चुनावी मौन अवधिमा भीम रावल अछाममा के गर्दैछन् ।

Nov Sat 2022 02:05:43

चुनावी मौन अवधिमा भीम रावल अछाममा के गर्दैछन् ।

नेकपा एमालेका नेता डा.भीमबहादुर रावल प्रतिनिधि र प्रदेशसभा मतदानको तीन दिन अघिमात्रै गृह जिल्ला अछाम पुगेका छन् । मंसिर ४ मा  मतदान गर्न उनी बिहीबार राति ९ बजे अछाम पुगेका हुन् । ०४८ सालदेखि अछामको राजनीतिमा केन्द्रमा रहेका रावल यो पटक निष्क्रिय जस्तै बसेका छन् । त्यसैले हुनसक्छ बिहीबार मध्यराति १२ बजेबाट चुनावको स्थिर समय (मौन अवधि) सुरु हुनु केहीघण्टा अघिमात्रै एकल रुपमा अछाम पुगे ।

यसअघिका चुनावमा जित्न र जिताउन खट्ने रावल यसपटक तटस्थ देखिन्छन् । ०४६ मा बहुदल आएपछि २०४८ को आम निर्वाचनमा पहिलोपटक चुनावी प्रतिस्पर्धा गरेका रावल त्यसबेला पराजित भएका थिए । २०५१ सालमा अछामबाटै निर्वाचित भएका उनी २०५६ को आम निर्वाचनमा दोस्रो पराजय भोगेका थिए । त्यसपछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भएका रावल २०७० र २०७४ मा निर्वाचित भएका थिए । यो पटक रावल उम्मेदवार हुनबाटै बञ्चित भए । एमालेको जिल्ला र प्रदेश कमिटीबाट एकल सिफारिस भएका रावलको विकल्पमा एमालेबाट झपट बोहरा चुनावी मैदानमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अछाम१ मा रावललाई पन्छाएर बोहरा रोजेपछि एमाले अछाम१ मा खासै उत्साह छैन ।

यो पटकको चुनावमा अन्तिम समयमा नेता रावल अछाम पुग्ने जानकारी पाएपछि एमाले अछामले स्वागत गर्ने तयारी गरेको थियोे । अछाम१ का एमाले प्रदेशसभा उम्मेदवार देवबहादुर कुँवरका अनुसार साँफेबगरबाट जयगढसम्म रावलको स्वागतमा मोटरसाइकल ¥याली निकाल्ने तयारी थियो । तर एमालेको स्वागत अस्वीकार गर्दै रावल राति ९ बजे मात्र अछाम पुगे । कुनै पनि चुनावी गतिविधिमा सहभागी नभएर रावल साँफेबगर नगरपालिका६ स्थित बागेश्वरको निजी घरमा पुगेका थिए । यो कुरा थाहा पाएका एमाले कार्यकर्ताहरु शुक्रबार विहानै उनलाई भेट्न रावल निवास पुगेका थिए । शुक्रबार रावललाई भेटेपछि उनीहरुले स्वागत गर्ने अवसर नदिएकोमा गुनासो समेत गरे । कुँवरले भने, ‘मोटरसाइकल र्‍यालीसहित स्वागत गर्ने योजना थियो । स्वागत गर्ने अवसर दिनु भएन भनेर मैले भनेँ  । उहाँले चुनावमा त्यस्तो राम्रो हुँदैन थियो भन्नुभयो ।उनका अनुसार अनुसार भेटघाटमा रावलले कुनै राजनीतिक संवाद गरेनन् ।

नेताजीले भोट हाल्न मात्र आएको हुँ भन्नुभयो । राजनीतिक कुरा गर्नु भएन । सुखाहा, दुखाहा (सुखदुःख)का कुरामात्र भए’, रातोपाटीस्ँग कुँवरले भने । रावलले मतदान गर्ने बाहेक अछामका भूकम्प पीडित भेट्ने कार्यतालिका छ । कात्तिक २३ को भूकम्पले चौरपाटी गाउँपालिका र साफेबगर नगरपालिकाका केही घरमा क्षति पुर्याएको थियो । सम्भव भएसम्म सबै भूकम्प पीडितलाई भेट्ने रावलले योजना बनाएको रावल निकट प्रकाश शाहले बताए । अछाम बसाईका क्रममा नेता रावल आफ्नो मामाघर जमालगाउँ जाने कार्यक्रम पनि छ । मामा बिरामी हुनुहुन्छ । उहाँलाई भेट्छु । म योपटक सामाजिक भेटघाट मात्र गर्छु भन्नुभयो,’ नेता रावलको भनाइ उद्धृत गर्दै शाहले रातोपाटीसँग भने । मंसिर ४ गते मतदान गरेर लगत्तै रावल काठमाडौं फर्किने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?