Nov Tue 2022 11:32:09
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्। न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको "हितमा" रहेको बताएका हुन्। तर अधिकारीहरू "आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको" बताए। ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता रोक्नको लागि सुलिभानले रुससँग वार्ताको नेतृत्व गरिरहेको विवरणको खण्डन गरे लगत्तै उक्त जानकारी सार्वजनिक भएको हो। वाल स्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरे अनुसार सुलिभानले आफ्ना रुसी समकक्षी, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनायता गोप्य वार्ताहरू गरेका छन्। वरिष्ठ अधिकारीहरूले उक्त पत्रिकासँग आफ्नो पक्षबाट युक्रेनको युद्धमा पारमाणविक वृद्धिको जोखिम कम गर्ने उपायहरूबारे छलफल गरेका बताए। उनीहरूका अनुसार द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा उनीहरू कुनै वार्तामा संलग्न छैनन्।